कनकाई अनलाईन
झापामा एक वर्ष नबित्दै जंगली हात्तीको आक्रमणबाट चारजनाको ज्यान गएको छ ।
डिभिजन वन कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ मा चारजनाको मृत्यु भएको छ । त्यसैगरी चालु आर्थिक वर्षमा झापामा तीनवटा हात्तीको मृत्यु भएको छ । मानव –हात्तीबीच बढ्दो द्वन्द्वका कारण दुवैतर्फ निरन्तर क्षति हुँदै आएको छ ।
यसैबीच जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा आईतवार विहान मेचीनगर नगरपालिका ४ की ६२ बर्षिय बृद्धा पदमा पौडेलको मृत्यु भएको छ । हात्तीले कुल्चिएर मारिएकी वृद्धाको शव स्थानीयले उठाउन दिएका छैनन् । आईतवार बिहान ४ः५५ बजे मेचीनगर नगरपालिका ४ नं वडा कार्यालय अगाडी बस्ने ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा अचानक एउटा जंगली हात्ती आई उनलाई आक्रमण गरेको थियो । हात्तीले कुल्चिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयका प्रतिनिधि नआउँदासम्म शव उठाउन नदिने भन्दै स्थानीयले अवरोध गरेका हुन् । हात्तीको समस्याको दीर्घकालीन समाधान हुनुपर्ने भन्दै स्थानीयले वन कार्यालयका कर्मचारी र जनप्रतिनिधिविरुद्ध नाराबाजी गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय झापाले भने मृतकको शवलाई पोस्ट म्याटमका लागि मेची प्रादेशिक अस्पतालमा ल्याउने तयारी भइरहेको जनाएको छ ।



