बीएण्डसी र नोबेल मेडिकल कलेजले असार २० देखि बीमा कार्यक्रम बन्द गर्ने


कनकाई अनलाईन
काठमाडौं, असार ८ गते । पूर्वका दुई मेडिकल कलेजले पनि बीमा कार्यक्रम असार २० गतेबाट बन्द गर्ने घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले बीमाको रकम नपाएको भन्दै असार २० गतेबाट बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका हुन् ।

बीमा गरेका बिरामी अस्पतालमा आएर उपचार गरेबापत सरकारले दिनुपर्ने बीमा बापतको करोडौं रकम नपाएको कलेज सञ्चालकको गुनासो छ ।

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका बिरामीलाई उपचार गरेबापत बीएण्डसीलाई ४५ करोडभन्दा बढी रकम दिन बाँकी रहेको बताउनुभयो ।

स्वास्थ्य बीमा योजनामा बीएण्डसी मेडिकल कलेज विगत दुई वर्षदेखि जोडिएर बिरामीलाई सेवा दिए पनि मङ्सिरदेखि रकम नपाएको प्रसाईंको गुनासो छ ।

स्वास्थ्य बीमा कार्यक्रममा जोडिएर बीएण्डसी कलेजले दैनिक एक हजारजना बीमा गरेका बिरामी अस्पताल आउने प्रसाईंको दाबी छ ।

झापा जिल्लामा मात्रै करिब सात लाख हाराहारी स्वास्थ्य बीमा कार्यक्रममा जोडिएको प्रसाईंको भनाइ छ ।

यसैगरी, नोबेल मेडिकल कलेजलाई ५४ करोड ३८ लाख रुपियाँ रकम दिन बाँकी रहेको कलेजका व्यवस्थापकका सदस्य भीम चन्द्रले जानकारी दिनुभयो ।

समयमै भुक्तानी नपाउँदा अस्पतालका कर्मचारीलाई तलब दिनसम्म समस्यामा परेको नोबेल मेडिकल कलेजका व्यवस्थापक चन्दको भनाइ छ ।

उहाँले भन्नुभयो, “सुरुवाती चरणदेखि हामीले १५ देखि १८ सयजना बिरामीको उपचार गर्दै आएका छौँ । सरकारसँग सम्झौता गर्दा बीमा कार्यक्रममा जोडिएका बिरामीको उपचार बापतको रकम १५ दिनभित्र पाउने व्यवस्था थियो तर मङ्सिरदेखि बीमा बोर्डले करोडौं रकम भुक्तानी नपाउँदा कर्मचारीलाई तलब दिन समस्यामा परेको छ ।”

यसअघि त्रिबि शिक्षण अस्पतालले बीमा बोर्डले उपचार गरेको पैसा भुक्तानी नदिएको भन्दै असार १५ बाट बीमा कार्यक्रम बन्द गर्ने घोषण गरेको थियो ।

सरकारले पाँच वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कैलाली जिल्लाबाट ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो ।

सरकारले एउटा परिवारले तीन हजार पाँच सय रुपियाँको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको पाँचजना सदस्यको बीमाको सेवा लिन पाउने व्यवस्था छ । हाल देशभरका ७७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ७ स्थित गरमकाली पम्प लगायात बिभिन्न स्थानमा चोरीमा संलग्न रहेका संखुवासभा थिभारा गाउँपालिका वडा नं ३…

केशब चापागाईंशरणामती।झापाको झापा गाउँपालिका(२ मा रहेको पुरानो स्वास्थ्य चौकी कुमरखोद स्वास्थ्य चौकीको मुहार फेरिएको छ।जिर्ण अवस्थामा रहेको स्वास्थ्य चौकीले मुहार…

कनकाई अनलाईनझापाको शिवसताक्षी नगरपालिका ४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु गरेको छ ।आइतवार झापा क्षेत्र नम्बर ४…

प्रतिकृयाहरू