केशब चापागाईं
शरणामती।झापाको झापा गाउँपालिका-२ बालुवाटारकी सुकमति सोरेनको परिवार आइतबार निक्कै खुसी देखिन्थ्यो। खुसीको कारण अरु केही नभएर यहाँ स्थित बालुवाटारमा तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत विपन्न सन्थाल राख्न लहरै बनाइएका २० घर सन्थाल आवास मध्ये उनको परिवारले एक घर पाएको थियो।
´सानो माई नदीको डिलमा घर टेकाउने ऐलानी जमिनमा बस्थ्यौ,यति राम्रो घर पायौँ सुकमतिले खुसी हुँदै भनिन बस्न राम्रो छ,ट्युबेल चाहिँ प्रत्येक घरमा एउटा छैन,त्यो पनि बनाइदिन्छौ भनेको छ,हामी पुजा गर्छौ सार्वजनिक ट्युबेल प्रयोग गर्न अलिक असहज हुन्छ।`बिजुलीको मिटर पनि प्रत्येक घरमा जडान गर्दिने भनेको छ,हामी खुसी छौ उनले थपिन।बर्सेनि सानो माई खोलामा बाढी आउँदा त्रासले बाच्नु पर्थ्यो अब आनन्दको सास लिन सक्ने भयौँ सुकमतिले भनिन।झापा-२ र ७ का विपन्न सन्थालले एकीकृत सन्थाल आवास पाएका छ्न।२० घरमा १९ घर परिवार आवासमा बस्न थालिसकेका छन १ घरपरिवार पनि आउने तयारीमा रहेको छ।
यता झापा-२ कि सुरजमुनि सोरेनका नयाँ घरमा नयाँ पाहुना आएका थिए।पाहुना सत्कारमा जुटेकी उनको मुहारमा पनि खुसी प्रस्टै देखिन्थ्यो।क्वाडीमा अर्काको नम्बरी जग्गामा घर मात्र अट्ने जमिन ओगटेर दुःखसुख गुजरा गर्दै थियो उनको परिवारले।आज उनले सरकारले बनाइदिएको एकीकृत आवास पाएकी छिन।´हामीलाई एकदमै खुसी लागेको छ उनले खुसी व्यक्त गर्दै भनिन।
वार्ड नं-२ को कार्यालयले खानेपानी र बिजुलीको प्रबन्ध तत्कालै गरेर सन्थाल आवास हस्तान्तरण गरिएको सचिव नारायण चम्लागाईंले बताए।´पालिका प्रमुख जयनारायण साहले पानी र बिजुलीको व्यवस्था तत्काल गर्नु भन्नुभयो, त्यसपछी हामीले त्यही अनुरूप काम गरेर सन्थाल समुदायलाई आवास हस्तान्तरण गरेका हौं चम्लागाईंले भने।`
दुई वर्ष अघि नै निर्माण सम्पन्न भएर हस्तान्तरणको पर्खाइमा रहेको सन्थाल जातीका लागि बनाइएको एकीकृत आवास अहिले विपन्न सन्थालले पाएका छन।कनकाई साप्ताहिक तथा कनकाई अनलाइनले बारम्बार फलोअप समाचार प्रकाशित गरेपछि अहिले पालिकाले सन्थाल समुदायलाई आवास हस्तान्तरण गरेको छ।कनकाई साप्ताहिकले लामो समय सम्म पनि जसका लागि बनाइएको उसलाई आवास हस्तान्तरण नगर्दा आवासका झ्याल सिसा,ढोका समेत टुटेका र आवास संरक्षण बिहिन बनेको भन्दै समाचार प्रकाशित गरेको थियो।
हस्तान्तरणको पर्खाईमा रहेको सन्थाल जातीका लागि बनाइएको एकीकृत आवास वि.सं २०७५/०७६ को बजेटमै वि.सं २०७६ साल असारमा कार्य सम्पन्न मिती पाएर समता कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.ली वानेश्वर काठमाण्डौले यी आवास निर्माण कार्य गरेको थियो।तराई मधेस समृद्वी कार्यक्रमबाट आएको बजेटद्वारा निर्मित आवासको अनुमानित लागत भ्याट सहित एक करोड पैतीस लाख त्रिचालीस हजार चार सय सत्र भएपनी कुल ९३ लाख २३ हजार ७ सय सोह्रमा निर्माणको ठेक्का लागेको थियो।