व्याक्ति एक व्याक्तित्व अनेक तुलसी सर


कनकाई अनलाईन
सामान्यतया एउटै व्यक्तिमा अनेकौं क्षमता र प्रतिभा हुँदैन । कुनै व्यक्ति एउटा विधामा पोख्त हुन सक्छन्, अर्को विधामा सामान्य जानकारी मात्र हुन सक्छ । तर, झापा सुरुङ्गालाई आफ्नो कर्मथलो बनाएर आफ्नो स्वर्ण जीवन पत्रकारिता, साहित्य र शिक्षण पेशामा समर्पित गरेर सदासदाका लागि अमर बनेका तुलसीदास श्रेष्ठ बहुमुखी प्रतिभाका धनी थिए ।

उनी साहित्यकार, सञ्चारकर्मी र शिक्षक मात्र थिएनन्, उनी गायक पनि थिए, उत्कृष्ट उद्घोषक पनि थिए । उनको विषयवस्तु प्रस्तुत गर्ने शैली अति प्रभावकारी थियो, स्रोताहरु उनीतर्फ सहजै आकर्षित हुन्थे । साँचो अर्थमा उनी एक कलाकार थिए, एक असल शिक्षाकर्मी र एक असल अभिभावक थिए ।

झापाका पुराना साहित्यकार तथा पत्रकार तुलसीदास श्रेष्ठ अहिले यस धराधाममा छैनन् । हामीबीच उनका स्मृतिहरु मात्र छन् । उनका असल कर्महरु छन् । सरल, मृदुभाषी र इमान्दार छबि भएका श्रेष्ठले करिब ६० वर्ष साहित्यमा कलम चलाए । वि।सं। १९९५ मंसिर २५ गते इलामको शान्तिपुरमा जन्मिएका श्रेष्ठ लामो समयदेखि शिक्षण पेशामा आबद्ध रहे । उनी दुई दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा क्रियाशील रहे ।

कनकाई नगरका विभिन्न सामाजिक संघ–संस्था तथा नेपाल सरकारका विभिन्न निकायबाट उत्कृष्ट शिक्षक र साहित्यकारका रुपमा सम्मानित तुलसीदास श्रेष्ठ कनकाई नगरको शिक्षाको विकासमा कोशेढुंगा हुन् । उनी नर्मल तालिम लिएर ४० वर्ष बढी उनी शिक्षण पेशामा आबद्ध रहे र आज उनी यस पृथ्वीमा नरहे पनि उनका विद्यार्थीहरु उनलाई अति नै श्रद्धाका साथ स्मरण गर्छन् ।

एक असल शिक्षकले विद्यार्थीलाई शिक्षा र सिकाइप्रति जागरुक गराउँछ र उसमा ज्ञानको भोक जगाइदिन्छ । उनी त्यस्तै शिक्षक थिए । विद्यार्थीलाई विषयवस्तु घोकाउनेभन्दा पढ्न प्रेरणा दिने र उसको बारेमा, उसको पढाइको बारेमा चासो राखिरहने तुलसी सर सबैका प्यारा थिए । सहनशीलता, मित्रता, नम्रता र सरलता उनका आभूषण थिए । एउटा मानिसको जीवन त्यति लामो हुँदैन, जति मानिसको आफू, आफ्नो समाज र मानवजातिका लागि केही गर्ने चाहना हुन्छ । तर, तुलसी सरको जीवनमा उनले औसत मानिसले गर्नेभन्दा बढी काम गरेका छन् । शिक्षा, पत्रकारिता र साहित्य क्षेत्रमा उनले गरेका योगदान हामी सबैका हृदयमा जुगजुगसम्म अमिट छाप बनेर रहने छन् ।

साहित्य सर्जक श्रेष्ठको एक शिक्षक उपन्यास–२०३५, अतित दोहोरिन्छ कथा संग्रह–२०५७, वर्तमान यस्तै छ कविता संग्रह–२०६० र आदर्श मान्छे उपन्यास–२०६१ गरी जम्मा चार कृति प्रकाशन भएका छन् । कनकाई प्रतिभा प्रतिष्ठान, विवेचना दैनिक भद्रपुर, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसीज, कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गा, सुरुङ्गा सहकार्य युवा क्लब, जिल्ला शिक्षा कार्यालय झापा, नेपाल शिक्षक संगठन झापा, प्यारागन एकाडेमी सुरुङ्गा तथा अन्य थुप्रै संघ–संस्थाहरूबाट सम्मानित तथा अभिनन्दित भएका साहित्यकार तथा पत्रकार श्रेष्ठ कनकाई नगरवासीका लागि सँधै एक प्रेरणापुञ्ज बनेर रहिरहेका छन् ।

उनले पूर्वाञ्चल दैनिक, विवेचना दैनिक, राष्ट्रिय समाचार समिति, दोमुखा मासिक लगायत दर्जनौं पत्रपत्रिकामा लेखक तथा सम्वाददाताका रुपमा रही काम गरेका थिए । दार्जिलिङबाट प्रकाशित हुने ‘भारती’ मासिक पत्रिकामा ‘इच्छा’ कविता प्रकाशनसँगै साहित्य क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ रोग र बुढ्यौलीले च्याप्दै लगेपछि पनि विभिन्न फुटकर लेख रचना, अनुसन्धानमूलक लेख, कथा, कविताहरु पत्रपत्रिकामा लेख्दै आएका थिए ।

उनी लामो समयसम्म कनकाई माध्यमिक विद्यालय सुरुङ्गामा शिक्षण पेशामा संलग्न रही निवृत्त जीवन बिताउँदै आएका थिए । २०७४ साल माघ २६ गते उनले भूलोक त्यागी परमधामको यात्रा गरेका थिए । सबै शिष्यहरुका लागि आँखामा नबिझाउने, शिक्षा क्षेत्रको विकासमा चिन्तनशील श्रेष्ठ एक उज्ज्वल नक्षत्रका रुपमा सदासर्वदा आम शिष्यहरु, अभिभावकहरु र साहित्यका अनुरागीका हृदयमा रहिरहने छन् ।

प्रस्तुति तीर्थराज खरेल


सम्बन्धित शीर्षकहरु

विराटनगर, ७ असोज ःनेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई…

काठमाडौं, ७ असोज-जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको…

काठमाडौं,७ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग सम्झिएका छन् । वाईसीएलको…

प्रतिकृयाहरू