कनकाई अनलाईन
झापा विद्रोहका योद्धा तथा संविधानसभाका सदस्य धर्मप्रसाद घिमिरेको भारतको पश्चिम बंगाल बागडोग्रामा आज सडक दुर्घटनामा मृत्यु भएको छ ।
घिमिरेको शव सोमवार बिहान बागडोग्रा थानाभन्दा ३ किलोमिटर पश्चिम एसियाली हाइवेको सडकमा मृत्य अवस्थामा फेला पारिएको भारतीय प्रहरीले जनाएको छ । बिहान साढे ३ बजेको समयमा ६५ बर्षिय घिमिरे सडकमा मृत अवस्थामा फेला पर्नुभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरिक्षक राजेन्द्र पोखरेलले बताउँनुभयो । घिमिरे ३ दिनपहिलेदेखी घरबाट बेपत्ता हुनुभएको थियो ।
घिमिरेका परिवारले वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएलगत्तै नेपाल तथा भारतका विभिन्न स्थानमा प्रहरी र आफन्तजनले खोजीलाई तीव्रता दिएको समेत पोखरेलले बताउँनुभयो । अचानक घिमिरेको शव भेटिएपछि नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा अनुसन्धान अगाडि बढाएको छ । हाल घिमिरेको शव पोष्ट म्याटम गरि परिवारको जिम्मा लगाइएको छ ।
घिमिरेलाई ठक्कर दिने सवारीको हालसम्म पहिचान खुल्न भने नसकेको प्रहरीले जनाएको छ । घिमिरे घरबाट बजार दाह्री काट्न जान्छु भनी निस्कनुभएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
घिमिरे पुराना कम्युनिष्ट योद्धा हुनुहुन्छ । घिमिरेले हालका प्रधानमन्त्री केपी शर्मा ओली लगायतसग मिली झापामा झापा विद्रोह गर्नुभएको थियो । मेचीनगर नगरपालिका १३ दुहागढी निवासी घिमिरे चर्चित नख्खु जेल ब्रेकरमध्येको एक रहनुभएको थियो । २०२३ सालदेखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका घिमिरे झापा विद्रोहको आन्दोलनमा पक्राउ परि ९ बर्षसम्म जेल जीवन बिताउँनुभएको थियो । पछि उहाँ जेल ब्रेक गरेर भाग्नुभएको थियो । घिमिरे २०६४ सालको संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर एक बाट तत्कालिन नेकपा माओवादीबाट चुनावमा उम्मेद्धार बनि बिजयी हुनुभएको थियो ।
पछिल्ला केहि बर्षदेखि डिप्रेशनको औषधि समेत सेवन गरिरहनुभएका घिमिरे बिरामीकै कारण पछिल्लो समयमा भने राजनैतिक गतिविधिमा निष्क्रिय देखिनुभएको नेकपाका जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजयले बताउँनुभयो । घिमिरेका पत्नी एक छोरा र दुई छोरी रहनुभएको छ ।