ताजा अपडेट
Home / Uncategorized / पत्रिकाका उपहार कार्यक्रम पाठकलाई लोभ्याउने कि झुक्याउने ?

पत्रिकाका उपहार कार्यक्रम पाठकलाई लोभ्याउने कि झुक्याउने ?

कृष्ण श्रेष्ठ

सत्य–तथ्य सूचना, ज्ञानविज्ञान तथा मनोरञ्जनका संवाहक अखबारहरू बेलामौकामा ‘सपनाको व्यापारी’ बन्छन् र आफ्ना नियमित तथा भावी ग्राहकहरूलाई थरीथरीका सपना बेच्छन् । गएको वर्ष ‘कान्तिपुर’ दैनिकले बम्पर उपहार एक किलो सुनको घोषणा ग¥यो । ‘अन्नपूर्ण’ दैनिकले ‘फुल्ली फर्निस घर’ बम्पर उपहारको ‘ओएमजी’ (ओ माई गड) योजना अघि सा¥यो । ‘नयाँ पत्रिका’ले ‘फियाट कार’ बम्पर उपहारको गुड चखायो । दौडमा अरू पनि रहे ।

ब्रोडसिट अर्थात् ठूला आकारका दैनिक पत्रिकाहरूबीच विशेष प्रस्ताव, ‘कभरमाउन्ट’ वा अन्य कुनै रूपमा गरिने ‘सर्कुलेसन वार’ अर्थात् अखबारको बिक्री वितरण बढाउन गरिने ‘तिकडमबाजी’ जारी छ । ‘ज्ञानमा धनी टन्न मनी’को घोषणासहित ‘अन्नपूर्ण पोस्ट’ले ल्याएको छ ‘एक लाख जितौँ हरेक दिन, पक्का उपहारमा बी.पी. मेसिन’ योजना । ‘उत्सव बन्दै छ महोत्सव, हामी आउँदैछौँ तपाईंको घरदैलोमा’ नारासहित ‘नयाँ पत्रिका’ मासिक स्कुटर, पाक्षिक ४० इञ्चको स्मार्ट टेलिभिजनका साथै ‘हातहातै रु. ५०००।–भन्दा बढी रकम को उपहारहरू’ लिएर ‘वार’मा होमिएको छ । ‘विश्वसनीय समाचार, हातहातमा उपहार’ नारासहित ‘लक्की ड्र’बाट स्कुटर, टेलिभिजन, मोबाइल सेट, लञ्च कुपनलगायत विभिन्न उपहारहरू दिएर ग्राहक तान्न ‘नागरिक’ टुपी कसेर लागेको छ । ‘द हिमालयन टाइम्स’को बम्पर उपहार छ, ‘रेनल्ट डस्टर’ कार र अन्य उपहारहरूमा मोटरसाइकल, स्कुटर, मोबाइल आदि । ‘राजधानी’को पक्कापक्की उपहार छ, ‘२ लिटर बराबरको पानी तताउने कित्ली’ । अन्य केही साप्ताहिक, मासिक तथा दैनिक तथा अखबारहरू पनि ‘सर्कुलेसन वार’को मैदानमा छन् ।

भर्खरै २५औं वार्षिकोत्सव मनाएको ‘कान्तिपुर’ भने तत्कालका लागि ‘सर्कुलेसन वार’को मूकदर्शक मात्र बनेको छ र सम्भवतः ‘छक्का’ हान्ने उचित समयको पर्खाइमा छ । कुनै बेला विदेश भ्रमणलगायतको योजना ल्याएको ‘गोरखापत्र’ भने ‘सर्कुलेसन वार’मा कमजोर अखबारहरूमध्ये एक साबित भएर पर्व–अवसरहरूमा छुट घोषणाको औपचारिकतामा खुम्चिएको छ । ग्राहकहरू मात्र होइनन्, अब त बिक्रेताहरू पनि ‘मछलीलाई चारो’को जालोमा पार्दैछन् ! कुनै दिन फलानो अखबारले फलानो पत्रिका बिक्रेतालाई फलानो (प्रतिस्पर्धी) अखबार नबेचेबापत पुरस्कृत ग¥यो (कमिसन बढी दियो !) भन्ने सुन्न प¥यो भने अचम्मको कुरो हुनेछैन । बजारमा कब्जा जमाउन चिसो पेय पदार्थका प्रतिस्पर्धीहरूले नेपाली बजारमा दुई तीन दशकयता यस्तो अभ्यास गरेकै हुन् । भूमण्डलीकरणले अखबार प्रकाशकहरूलाई पनि व्यापारीकरणमा लाग्न गजबले सिकाएको छ ।
रु. ३४ सयको च्याँखे दाउमा ‘एक किलो सुन’ वा ‘फुल्ली फर्निस्ड घर’ वा ‘कार’ वा दैनिक एक लाखको पुरस्कार ! दिनरात मिहिनेत गर्दा पनि भरपेट खान, बिरामी पर्दा निर्धक औषधिमूलो गर्न र सन्तानको उज्ज्वल भविष्यका लागि राम्रो शिक्षादीक्षा दिनसमेत दाँतबाट पसिना निकाल्न परेका, ‘लुक्रेटिभ जब’ मा नरहेका र नयाँ सामाजिक मान्यतामा ‘हुतिहारा’ ठहरिएकाहरूका लागि ‘नट अ ब्याड आइडिया यार !’ हो, विभिन्न दैनिक पत्रिकाहरूको ‘सर्कुलेसन वार’को उपज उपहार कार्यक्रम । त्यसमा पनि बम्पर नभए अरू उपहार त छँदैछन् ! त्यति पनि भएन भने अखबार त कतै नजाला ! तर, सपनाको काँचको महलमा यथार्थको ढुङ्गा बर्सिंदाको पीडा भने थुप्रै ग्राहकले भोगेका थिए, भोगिरहेका छन् र भोलि पनि भोग्नेछन् ! फोसाको लालसा नेपाली ग्राहकको सामान्य प्रवृत्ति हो तर ग्राहक बनेपछि नियमित अखबार पाउने, त्यो पनि बिहान सबेरै पाउने विश्वासले नै पाठकहरू ग्राहक बनेका हुन्छन् । यो विश्वासयुक्त अधिकार अखबार प्रकाशकहरूको व्यवहारले कुण्ठित हुँदा भने ग्राहकहरू ‘लोभले लाभ, लाभले विलाप’ सम्झँदै अखबार व्यवस्थापकहरूको संवेदनहीनताप्रति आलापविलाप गर्न बाध्य हुन्छन् ।
अखबार नियमित प्राप्त नहुनु नेपाली पाठकहरूले भोग्दै आएकोे दीर्घकालीन रोग हो । नेपाली ब्रोडसिट दैनिकहरूको अध्ययनको सिलसिलामा पङ्क्तिकार एक पटक राजधानीमा उपलब्ध आठवटा दैनिकको ग्राहक बनेको थियो । त्यसबेला नियमित रूपमा अखबार प्राप्त नभएपछि छुट अङ्कहरूका लागि स्थानीय बिक्रेताको शरण लिन र गोजीलाई अतिरिक्त हल्का गर्न पङ्क्तिकार बाध्य भएको थियो । पछि, अध्ययनकै सिलसिलामा १० वटा अखबार आवश्यक पर्दा भने आधाभन्दा बढी त स्थानीय बिक्रेताबाट नै खरिद ग¥यो, प्राप्ति सुनिश्चितताकै कारण ।
कतै कोहीमाथि अन्याय, अत्याचार भएमा वा कतै अनियमितता भइरहेको भएमा त्यसका विरुद्ध आवाज उठाउने अखबारहरूले आफ्नै प्रकाशनगृहबाट ‘अखबार पाउने’ ग्राहकको अधिकार कुण्ठित भइरहेकोतर्फ किन ध्यान दिन सकिरहेका छैनन् ? तीन–चार वर्षअघिको कुरो हो, अखबार नियमित रूपमा पाइएन भनेर बारम्बार गरिएको गुनासोको सुनुवाइ नभएपछि एक जना पाठकले आक्रोशित भएर अमुक पत्रिकाका सम्पादक÷प्रकाशकलाई इमेल गरेका थिए ः ‘… वितरकहरूलाई यसरी नै ग्राहक ठग्न सिकाएको छ ? होइन भने बारम्बार ‘कम्प्लेन’ गर्दा गर्दै पनि स्थितिमा सुधार किन आउँदैन ? यस्तो प्रवृत्तिलाई ग्राहक ठग्ने संस्थागत प्रवृत्ति भनेर किन नभन्ने ?…।’ स्थिति सुध्रिएन । भड्किएको ग्राहक त्यसपछि ग्राहक नवीकरणका लागि फिटिक्कै मानेन ।
एक अमुक अखबारको व्यवस्थापनले ग्राहकसम्म अखबार नपुगेमा आफ्ना वितरकलाई जरिवाना तिराउँथ्यो रे ! अब त त्यही अखबारको वितरण अधिक अनियमित हुनथालेको छ । गुनासोमा कहिले वितरक त कहिले इन्चार्ज फेरिएको जवाफ दिइन्छ । अर्को अमुक प्रकाशनगृहका लागि अखबार कहिल्यै बासी हुँदैन । त्यसैले त आज पु¥याउन भ्याइएन भने भोलि वा पर्सि भए पनि पु¥याउँछ ! मानौं त्यो अखबार नभएर आलुप्याज हो, जसको प्रयोग भनेको आवश्यक परेको बेला मात्र हुने गर्छ । कुनै कुनै अखबार वितरकलाई भने बेला बेलामा ‘साप्ताहिक बिदा’ वा ‘सार्वजनिक बिदा’ लाग्छ र ‘अखबार बंक डे’को जन्म हुन्छ । दशैं–तिहारजस्ता चाडपर्वमा वितरकहरू घर गएका कारण पनि सम्पूर्ण ग्राहकले प्रकाशित सम्पूर्ण अङ्क पाउँदैनन् । कुनै कुनै अखबारलाई भने लाग्दो हो, बिहान ७ बजेभन्दा अघि अखबार पु¥याउनु भनेको ग्राहक÷पाठकलाई असमयमा दुःख दिनु हो !
बजारमा पाठकहरूको क्रय क्षमताभन्दा अधिक सङ्ख्यामा अखबारहरू छन् । ग्राहकका सामु विकल्पका बिस्कुन सुकाइएका छन् । रेडियो, टेलिभिजन र अनलाइनहरूका ‘पल पलको खबर’ विकल्पका बज्रमुक्काका रूपमा छन् । अखबारहरूकै ‘डिजिटल भर्सन’हरू पनि ‘फ्रि ब्रेकफास्ट’ भएका छन् । परिणाम, अखबारका हार्डकपीका ग्राहक–ब्यारोमिटरको पारो चढ्ने होइन, झर्ने क्रम बढ््दो छ । यसतर्फ प्रकाशनगृहहरूको ध्यान पुगेको छैन भन्ने दुस्साहस त आमग्राहकले गर्नै सक्दैन ।
भड्केको ग्राहकलाई पुनः आपूmतर्फ तान्ने काम असम्भवजस्तै हुन्छ भन्ने अनुभवसिद्ध कुरो हो । उपहार एक प्रकारले ग्राहकहरूमाथि प्रयोग गरिने ‘क्यारोट एन्ड स्टिक’ तिकडम हो । यस्तो तिकडम सदाका लागि चल्न सक्दैन । त्यसमाथि व्यापार–व्यवसायमा वर्षौंदेखि चलिआएको मन्त्र नै छ, ‘कस्टमर इज अ किङ’ (ग्राहक राजा हो) । ‘उपहारहरू भर्सेलामा परून्, अखबार नियमित रूपमा पाउन प¥यो । अखबारहरू समयमा पाउन प¥यो । डोरी जस्तो नबटारेको अखबार पाउनु प¥यो ! वर्षादको समयमा समेत मन्दिरमा परेवालाई चारो फालेजस्तो अखबार फाल्न भएन !’ भन्ने जस्ता ग्राहकका सोचलाई प्रकाशनगृहहरूले व्यवहारमा नै सम्मान गर्नसके मात्र ओरालो लाग्ने गति सुस्त होला । अन्यथा भगवान् भरोसा !
हो, सबै प्रकाशनगृहलाई एउटै लठ्ठीले हाँक्न सकिन्न । त्यस्ता प्रकाशनगृह पनि छन्, जसले पत्रिका नपुगेको गुनासो गम्भीरतापूर्वक सुन्ने र स्थिति सुल्ट्याउने गर्छन् । एउटा साप्ताहिक खबरपत्रिकाले कुनै ग्राहककोमा पत्रिका नपुगेको जानकारी प्राप्त भएपछि सोही दिन वा भोलिपल्ट पत्रिका उपलब्ध गराउँछ । यो गुण वा विशेषता दैनिक अखबारहरूमा औसत रूपमा शून्य देखिन्छ ।
अरूले गरेका अन्याय, अत्याचार र अनियमितता विरुद्ध आवाज उठाइरहने प्रकाशनगृहहरूले ग्राहक–पाठकको विश्वास कायमै राख्ने कि उनीहरूको अस्मिताप्रति निरपेक्ष रहेर ‘गोहीको आँसु’ झारेर ग्राहकहरूमाथिको अन्याय जारी राख्ने ? अखबार नपुगेको गुनासोमा ‘भोलिदेखि नियमित पठाइदिन्छौं’को ‘लालीपप’ मात्र चटाइरहने कि ‘अखबार पाउने ग्राहकको सर्वोच्च अधिकार हो’ भन्नेमा ग्राहकहरूलाई मन, वचन र कर्मले विश्वास दिलाउने ? गम्भीर पाठक÷ग्राहकका लागि उपहार होइन, समयमा र नियमित रूपमा अखबार पाउने कुरो नै महìवपूर्ण हुन्छ । यसमा नै अखबारहरूले सञ्चालन गर्ने उपहार योजनाहरूको पनि महìव रहन जान्छ । उपहार कार्यक्रमबाट ग्राहकहरूलाई लोभ्याउन सकिएला तर टिकाइराख्न सकिँदैन । तसर्थ उपहार कार्यक्रमका नाममा पाठकहरूलाई लोभ्याउने÷झुक्याउने कि अखबारप्रति आस्था–विश्वास जगाउने र पाठक बनाउने ? यसमा विवेकपूर्ण छनोट गर्ने जिम्मेवारीपूर्ण दायित्व प्रकाशनगृहहरूकै हो ।

गोरखापत्र दैनिक

Facebook Comments

Check Also

कनकाई सामुदायिक वनको आगो नियन्त्रणमा

कनकाई अनलाइन झापाको कनकाई सामुदायिक वन समुहभित्र लागेको आगो नियन्त्रणमा आएको छ । आज आइतवार …